काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन कार्य तीव्र पारिएको छ । परराष्ट्र मन्त्रालयले अहिलेसम्म ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यो जानकारी दिएका हुन् ।

advertisement

उनले भने, “परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरिरहेको छ । अहिलेसम्म झन्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाउनुभएको छ ।”

मन्त्री खनालले पछिल्लो केही दिनमा मध्यपूर्वबाट फोन आउने संख्या घट्दै गए पनि तुरुन्तै नेपाल फर्कनुपर्ने अवस्था आएमा उद्धार गर्न तयारी गरिएको बताए । उनले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरी सहजीकरण गरिसकेको जानकारी दिए ।

“तुरुन्तै नेपाल आउनुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै हामीले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजीकरण गरिसकेका छौं,” उनले थपे ।

मन्त्रीका अनुसार नेपाल एयरलाइन्स मार्फत मध्यपूर्व क्षेत्रमा उडान सहज बनाइएको छ । दुबईमा नियमित उडान सुरु भइसकेको छ भने साउदी अरबलगायतका क्षेत्रमा थप उडान व्यवस्थापनका प्रयास भइरहेको छ ।

द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी र आर्थिक क्षेत्रमा परेको प्रभावको अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको पनि मन्त्री खनालले बताए ।

सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिँदै उद्धार र सहजीकरणका लागि आवश्यक सबै तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com