काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋण सम्बन्धी विषयमा वर्तमान सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। उनले सरकारको व्यवहारमा दोहोरोपन देखिएको आरोप लगाउँदै स्पष्टता माग गरेका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले दिगो पूर्वाधार निर्माणका लागि विदेशी ऋण लिनु नेपालजस्तो विकासोन्मुख मुलुकका लागि आवश्यक र बाध्यात्मक दुवै रहेको स्वीकार गरे। तर, विगतमा यही विषयलाई लिएर चर्को आलोचना गर्ने दलहरू अहिले सत्तामा पुग्दा ठोस नीति र प्राथमिकता प्रस्तुत नगरी ऋण लिइरहेकोप्रति उनले आपत्ति जनाए।
उनले लेखेका छन्, ‘हिजो विदेशी ऋणले देश डुबायो भन्दै विरोध गर्नेहरू आज सरकारको नीति, कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो परिमाणमा ऋण लिइरहेका छन्। यस्तो अवस्थाले स्वाभाविक रूपमा अनेक प्रश्न जन्माउँछ।’
गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले करिब १८.५ करोड अमेरिकी डलर (झण्डै २७ अर्ब रुपैयाँभन्दा बढी) बराबरको विदेशी ऋण स्वीकृत गर्ने निर्णय गरेको थियो।
पोखरेलले सत्ता बाहिर हुँदा ऋणको कडा विरोध गर्ने र सत्तामा पुगेपछि त्यही अभ्यासलाई निरन्तरता दिने प्रवृत्तिलाई असंगत भन्दै प्रश्न गरे, ‘हिजो विरोध किन? आज स्वीकार किन?’
उनले ठूलो परिमाणमा लिइएको विदेशी ऋणबारे सरकारले जनतासामु पारदर्शी र स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिएका छन्।
यसै विषयमा खुस्बु ओलीले पनि प्रतिनिधि सभा बैठकमा प्रश्न उठाउँदै सरकारको निर्णयप्रति चासो व्यक्त गरेकी थिइन्।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया