काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम पुनः निर्धारण गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रममा हेरफेर गरिएको हो।
नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौँ स्थानमा झरेका छन्।
मर्यादाक्रमको दोस्रो स्थानमा डा स्वर्णिम वाग्ले यथावत् छन् भने तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथो स्थानमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।
त्यसपछिको क्रममा भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता रहेका छन्।
त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह क्रमशः सूचीमा समेटिएका छन्।
राष्ट्रपतिबाट गरिएको यस हेरफेरले मन्त्रिपरिषद्भित्रको प्रोटोकल तथा औपचारिक प्राथमिकतामा नयाँ संरचना स्थापित गरेको छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया