काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको माग चर्किँदै गइरहेका बेला हस्ताक्षर अभियानमा संलग्न नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफलका लागि बोलाएका छन्।
मंगलबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपस्थित हुन आग्रह गरिएको जानकारी अनेरास्ववियुका उपमहासचिव कमल जोशीले दिएका छन्। उनका अनुसार विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका समूहलाई छलफलका लागि बोलाइएको हो।
यस्तै, एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि आफूहरूलाई सोही समय च्यासलमा उपस्थित हुन जानकारी प्राप्त भएको बताएका छन्।
हालै सम्पन्न निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर परिणाम ल्याएपछि पार्टीभित्रै युवा, विद्यार्थी तथा बुद्धिजीवी वर्गले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै आएका छन्। उनीहरूले समयअनुकूल नयाँ नेतृत्व विकास गर्नुपर्ने र वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्पबारे समेत बहस अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
यसै सन्दर्भमा सुरु गरिएको हस्ताक्षर अभियानले पार्टीभित्रको आन्तरिक बहसलाई थप तीव्र बनाएको देखिएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया