काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयहरूले विद्यार्थीबाट भर्ना शुल्क लिनेदेखि रोक्न कठोर निर्देशन जारी गरेको छ। अब एउटै विद्यालयमा विद्यार्थीबाट केवल एक पटकमात्रै भर्ना शुल्क लिन सकिने व्यवस्था लागू गरिएको छ। मन्त्रालयले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न र पटक-पटक शुल्क असुल नगर्न सबै देशभरका विद्यालयलाई स्पष्ट रूपमा निर्देशन दिएको छ।

मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोख्रेलद्वारा हस्ताक्षरित पत्रमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको पत्रमा देशभरका ७५३ स्थानीय तहलाई यो निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न अनुरोध गरिएको छ। केही विद्यालयले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना गर्ने, अग्रिम शुल्क असुल गर्ने र स्वीकृत शीर्षकभन्दा बाहिर गएर बढी शुल्क लिने गरेको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

advertisement

पत्रमा शिक्षा नियमावली २०५९ को परिच्छेद १५ उद्धृत गर्दै शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाउने कानुनी व्यवस्था स्मरण गराइएको छ। पत्रअनुसार, “प्रचलित कानुनअनुसार भर्ना भएपश्चात मात्र स्वीकृत शीर्षकमा शुल्क लिन पाइने भए तापनि केही विद्यालयले अग्रिम वा बढी शुल्क लिएका, फरक शीर्षकमा रकम असुलेका र कक्षा परिवर्तन हुँदा पुनः भर्ना शुल्क लिएका पाइएको छ।”

साथै, मन्त्रालयले सर्वोच्च अदालतको फैसलालाई समेत आधार मानेर नियमविपरीत लिइएको अग्रिम शुल्क तत्काल सम्बन्धित अभिभावक वा विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। यदि कुनै विद्यालयले यो आदेशको उल्लंघन गरेमा स्थानीय तहहरूलाई प्रचलित कानुन अनुसार कडा कारबाही गर्न अधिकार समेत प्रदान गरिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com