काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशको समग्र विकास सन्तुलित बनाउन सीमावर्ती क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उत्तरपश्चिम सीमामा पर्ने दार्चुला पुगेका उनले छिमेकी भारतले सीमापार तीव्र गतिमा पूर्वाधार विकास गरिरहँदा नेपाली भूभाग भने उपेक्षित अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरे।
उनका अनुसार सीमावर्ती क्षेत्रमा विकासको अभावले राष्ट्रियता कमजोर बन्ने खतरा रहन्छ। ‘पारिपट्टि भारतले दुई लेन मात्र होइन, चार लेनसम्मका सडक निर्माण गरिसकेको छ। हाम्रोतर्फ पनि सरकारले त्यत्तिकै ध्यान दिन जरुरी छ,’ उनले बताए। आफूले सधैं सीमाक्षेत्रमै विकास केन्द्रित हुनुपर्छ भन्ने मान्यता राख्दै आएको उनको भनाइ थियो।
साम्पाङले हाल काठमाडौं, विराटनगर, बुटवल र वीरगञ्जजस्ता सहरी क्षेत्रमा मात्रै विकास केन्द्रित भएको उल्लेख गर्दै अबको बजेटमा कम्तीमा ६० प्रतिशत रकम ग्रामीण तथा सीमावर्ती क्षेत्रमा छुट्याउनुपर्ने बताए। ‘यो विषय म संसद्मा पनि उठाउने तयारीमा छु,’ उनले स्पष्ट पारे।
लिपुलेकतर्फ जाने सडक भारतले निर्माण गरिसकेको भन्ने स्थानीयको भनाइ आफूले सुनेको उनले बताए। नेपालले आफ्नो सीमाको स्पष्ट निर्धारण र संरक्षणका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्नेमा उनले जोड दिए। ‘राष्ट्रसंघजस्ता निकायमा गएर सीमाको चार किल्ला सुनिश्चित गर्नुपर्ने माग मैले संसद्मा राखिसकेको छु,’ उनले भने।
दार्चुलाका विकट बस्तीहरूको अवस्था देख्दा आफू निकै दुःखी भएको साम्पाङले बताए। ‘पारिपट्टि रातभरि झिलिमिली बत्ती बलिरहेको हुन्छ, तर वारिपट्टि भने अँध्यारो छ,’ उनले भने। महाकाली नदीको सम्भावना उपयोग गरी विद्युत उत्पादन गरेर सीमाक्षेत्रलाई उज्यालो बनाउनु आवश्यक रहेको उनको धारणा थियो।
उनले सीमापार विकास तीव्र गतिमा अघि बढिरहँदा नेपाली भूभाग भने पछि परेको अवस्था अन्त्य गर्न सरकारले ठोस पहल गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया