काठमाडौं। इरान, अमेरिका र इजरायलबीच दुई हप्ताको युद्धविराम भएको खबर सार्वजनिक भएपछि बुधबार बिहान एसियाली शेयर बजारमा उल्लेख्य उछाल देखिएको छ ।
मध्यपूर्वमा सैन्य तनाव घटेको र होर्मुज जलमार्ग पुनः खोल्ने प्रतिबद्धता आएपछि कच्चा तेलको मूल्यमा समेत भारी गिरावट आएको छ ।
जापानको निक्केई २२५ सूचकांक ५.२८ प्रतिशत (२,८२२.४४ अंक) ले बढेर उछालिएको छ भने दक्षिण कोरियाको कोस्पी सूचकांक ५.६१ प्रतिशत अर्थात् ३०८.११ अंकले वृद्धि भएको छ ।
भारतको गिफ्ट निफ्टी ३ प्रतिशतभन्दा बढीले उकालो लागेर २३,८४१ को स्तरमा पुगेको छ ।
त्यस्तै हङकङको ह्याङ सेङ ३.०४ प्रतिशत र ताइवानको वेटेड सूचकांक ३.७२ प्रतिशतले बढेका छन् ।
युद्धविरामको घोषणाले ऊर्जा बजारमा ठूलो प्रभाव पारेको छ ।
ब्रेन्ट क्रुड तेलको मूल्य १३.०४ प्रतिशतले घटेर प्रति ब्यारेल ९५.०२ डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई) १३.७६ प्रतिशतले घटेर ९७.४१ डलरमा पुगेको छ ।
अर्कोतर्फ, अनिश्चितता कम भए पनि सुनको मूल्यमा भने २.१३ प्रतिशत (१००.४५ अंक) को वृद्धि देखिएको छ ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्ताव स्वीकार गरेको जानकारी दिएका छन् ।
उनले इरानमाथि आक्रमण नभए आफ्ना सशस्त्र बलले पनि रक्षात्मक कारबाही रोक्ने र दुई हप्ताका लागि होर्मुज नाकाबाट सुरक्षित आवागमन सुनिश्चित गर्ने बताएका छन् ।
अराघ्चीले मध्यस्थता गरेकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल असिम मुनिरलाई धन्यवाद दिएका छन् ।
यस दुई हप्ताको युद्धविरामले अमेरिका र इरानबीच इस्लामाबादमा थप विस्तृत वार्ताका लागि बाटो खोल्ने अपेक्षा गरिएको छ ।
यसैबीच इस्लामाबादमा शान्ति शिखर सम्मेलन हुने सम्भावना पनि बढेको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको १० बुँदे प्रस्तावलाई वार्ताको आधार बनाउँदै इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्ने घोषणा गरेका थिए ।
ट्रम्पले अमेरिकाले आफ्ना अधिकांश सैन्य लक्ष्यहरू प्राप्त गरिसकेको र अब दीर्घकालीन शान्तिका लागि कूटनीतिक पहल गर्ने बताएका थिए ।
यो युद्धविरामको खबरले विश्व बजारमा राहतको अनुभूति गराएको छ भने एसियाली शेयर बजारमा देखिएको उछालले लगानीकर्ताहरूमा सकारात्मक भावना बढाएको छ ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया