काठमाडौं। विश्व विद्युतीय सवारी क्षेत्रमा क्रान्ति ल्याएको अमेरिकी कम्पनी टेस्लालाई भारतीय बजारमा आफ्नो पकड जमाउन निकै कठिन भएको छ ।
प्रविधि र ब्रान्ड भ्यालुमा अग्रणी भए पनि भारतमा टेस्लाका कारहरूको बिक्री अत्यन्त निराशाजनक देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार टेस्लाले भारतमा ८ महिनाको अवधिमा ३५० युनिट कार पनि बिक्री गर्न सकेको छैन ।
गत वर्ष जुलाईमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा टेस्लाले आफ्नो पहिलो शोरुम तामझामका साथ उद्घाटन गरेको थियो ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले उद्घाटन गरेको उक्त शोरुमबाट कम्पनीले ‘मोडल वाई’ सार्वजनिक गरेको थियो ।
कारको सुरुवाती मूल्य ५९.८९ लाख भारतीय रुपैयाँ तोकिएको थियो ।
सन् २०२५ को सेप्टेम्बरबाट बिक्री सुरु भए पनि ७ महिनाको अवधिमा नतिजा अत्यन्त कमजोर देखिएको छ ।
फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसन (फाडा) को तथ्यांक अनुसार आर्थिक वर्ष २०२५-२६ मा टेस्ला इन्डियाले जम्मा ३४२ कार मात्र बिक्री गरेको छ ।
यसको अर्थ औसतमा प्रति महिना ४३ वटा कार मात्र बिक्री भएको हो ।
टेस्लाको यो अवस्था कमजोर देखिए पनि समग्र भारतको विद्युतीय सवारी (इभी) बजार भने निकै फस्टाएको छ ।
आर्थिक वर्ष २०२६ मा दुई पाङ्ग्रे देखि व्यावसायिक सवारीसम्म गरी कुल २४.५२ लाख इभी युनिट बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २४.६ प्रतिशतले वृद्धि हो ।
विशेष गरी प्यासेन्जर इभी (विद्युतीय कार) खण्डमा ८३.६३ प्रतिशतको उछाल आएर बिक्री संख्या करिब २ लाख पुग्न लागेको छ ।
जहाँ बजारमा २ लाख विद्युतीय कारको माग छ, त्यहाँ टेस्लाले जम्मा ३४२ युनिट मात्र बेच्न सक्नु कम्पनीका लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
भारतमा ‘मोडल वाई’ को मूल्य ६० देखि ७० लाख भारुको हाराहारीमा छ ।
अमेरिकाको तुलनामा यो ७० प्रतिशत महँगो हुनुको मुख्य कारण ७० देखि १०० प्रतिशतसम्म लाग्ने भारी आयात शुल्क हो ।
मूल्यमा अत्यन्त सचेत भारतीय बजारमा यो कार केवल १ प्रतिशत हिस्सा ओगट्ने ‘लक्जरी वर्ग’ मा मात्र सीमित हुन पुगेको छ ।
टेस्लाले हालसम्म भारतमा कार उत्पादन गर्दैन ।
बिक्री हुने सबै कार चीनको सांघाईस्थित गिगा फ्याक्ट्रीबाट ‘कम्प्लिटली बिल्ट युनिट’ का रूपमा आयात गरिन्छ ।
स्थानीय उत्पादन नभएसम्म मूल्य घट्ने सम्भावना निकै कम छ ।
भारतीय बजारमा बिवाइडी, विनफास्ट, मर्सिडीज बेन्ज, बिएमडब्लु, हुण्डाई, टाटा मोटर्स र महिन्द्रा जस्ता कम्पनीहरूले बलियो उपस्थिति जनाएका छन् ।
यी कम्पनीका विद्युतीय कारहरू टेस्लाको तुलनामा निकै सस्तो र धेरै फिचरयुक्त छन् ।
टेस्लाको चर्चित ‘फुल्ली सेल्फ ड्राइभिङ’ फिचरलाई भारत सरकारले अझै अनुमति दिएको छैन ।
यसका लागि कम्पनीले ६ लाख भारुसम्म थप शुल्क लिने गर्दछ ।
साथै, ‘मोडल वाई’ को १६७ मिमी ग्राउण्ड क्लियरेन्स भारतीय सडकका खाल्डाखुल्डी र अवस्थाका लागि निकै कम मानिएको छ ।
चुनौतीका बाबजुद टेस्लाले आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।
दिल्ली, मुम्बई, गुरुग्राम र बेंगलुरुमा उपस्थिति जनाएको कम्पनीले हालै नवी मुम्बईमा ‘सुपरचार्जर स्टेसन’ पनि स्थापना गरेको छ ।
कम्पनीको दाबी अनुसार यी सुपरचार्जरबाट १५ मिनेट मात्र चार्ज गर्दा कारले २७५ किलोमिटरको रेन्ज दिन्छ ।
विश्लेषकहरूका अनुसार यदि टेस्लाले भारतमै स्थानीय उत्पादन सुरु गरेर मूल्य समायोजन नगरेसम्म भारतीय ‘मास मार्केट’ मा स्थान बनाउन निकै कठिन हुने देखिन्छ ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया