वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा बढेको जहाज आवागमन अवरोध (ट्राफिक जाम) को व्यवस्थापन गर्न अमेरिकाले सहयोग गर्ने बताएका छन् ।
बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले अमेरिका र इरानबीच घोषणा गरिएको दुई हप्ते युद्धविरामसँगै उक्त महत्वपूर्ण समुद्री मार्ग पूर्ण, तत्काल र सुरक्षित रूपमा खुला गरिनुपर्ने सर्त रहेको उल्लेख गरेका छन् ।
ट्रम्पले लेखेका छन्, “धेरै सकारात्मक कदमहरू चालिनेछन् ।
ठूलो आर्थिक गतिविधि हुनेछ ।
इरानले पुनर्निर्माण प्रक्रिया सुरु गर्न सक्छ ।”
उनले अमेरिकाले विभिन्न सामग्री आपूर्ति गर्दै अवस्थालाई सहज बनाउन “वरिपरि रहने” पनि बताएका छन् ।
यद्यपि अमेरिकाले कसरी र कुन रूपमा प्रत्यक्ष सहयोग गर्ने भन्नेबारे ट्रम्पले स्पष्ट विवरण दिएका छैनन् ।
यस विषयमा थप जानकारीका लागि ह्वाइट हाउससँग सम्पर्क गरिएको जनाइएको छ ।
ट्रम्पले यो घटनालाई “विश्व शान्तिका लागि ठूलो दिन” भन्दै स्वागत गरेका छन् ।
उनले भने, “इरान अब शान्ति चाहन्छ, उनीहरू पर्याप्त थाकिसकेका छन् ।”
यसअघि इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले दुई हप्ते अवधिमा स्ट्रेट अफ हर्मुजबाट सुरक्षित आवागमन इरानी सशस्त्र बलसँग समन्वय गरी सम्भव हुने बताएका थिए ।
स्ट्रेट अफ हर्मुजबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्दछ ।
इरान युद्ध सुरु भएदेखि नै यस मार्गमा जहाज आवागमन प्रभावित हुँदै आएको थियो ।
ट्रम्पले यसअघि पनि अमेरिका र इरानले संयुक्त रूपमा उक्त जलमार्ग नियन्त्रण गर्ने सम्भावना व्यक्त गरेका थिए ।
यो युद्धविराम र ट्राफिक जाम व्यवस्थापनको सहयोगले विश्व बजारमा तेल आपूर्ति सहज बनाउने र आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया