काठमाडौं। इरान र अमेरिकाबीच दुई हप्ते युद्धविरामको सम्झौता भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

तर, यो राहत नेपाली उपभोक्ताको भान्सा र सवारी साधनसम्म पुग्न अझै केही समय लाग्ने देखिएको छ ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि होर्मुज जलमार्ग खुल्ने सम्भावना बढेसँगै बुधबार अमेरिकी कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.३१ डलरमा झरेको छ भने ब्रेन्ट क्रुडको मूल्य १३ प्रतिशतले ओरालो लागेर ९५.३६ डलरमा पुगेको छ ।

यद्यपि नेपाल आयल निगमले भने तत्कालै इन्धनको मूल्य नघट्ने संकेत गरेको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले प्राविधिक तथा वित्तीय कारण देखाउँदै उपभोक्ताले तत्काल राहत नपाउने बताएका छन् ।

प्रवक्ता ठाकुरले भने, “कच्चा तेलसँग सिधै हाम्रो लिङ्क हुँदैन ।

अहिले कच्चा तेल १०० डलर आसपास हुँदा पनि अन्तर्राष्ट्रिय बजारमा डिजेल जस्तो प्रशोधित तेलको मूल्य ३०० डलर पुगेको छ ।

सामान्य अवस्थामा यो अन्तर २०–२५ डलर मात्र हुन्थ्यो, तर अहिले २०० देखि २५० डलरसम्मको ठूलो ग्याप छ ।

त्यसैले कच्चा तेलको मूल्य घट्दैमा हाम्रो खरिद दर तुरुन्त घट्दैन ।”

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ र डिजेलमा प्रतिलिटर १२० रुपैयाँ घाटा छ ।

सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट दिए पनि यो घाटा पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन ।

सरकारको छुटले १५ दिनमा जम्मा डेढ अर्ब रुपैयाँ मात्र रिकभर हुने तर निगमको १५ दिनकै घाटा ११ अर्ब ७१ करोड रुपैयाँ रहेको ठाकुरले बताए ।

निगमले भारतीय आयल कर्पोरेसनबाट आगामी १५ तारिख बेलुका आउने नयाँ मूल्य सूचीको प्रतीक्षा गरिरहेको छ ।

उक्त सूची आएपछि मात्र नेपालमा पेट्रोल र डिजेलको मूल्य घट्ने वा नघट्ने टुङ्गो लाग्ने निगमले जनाएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको यो भारी गिरावट को तत्काल लाभ नेपाली उपभोक्ताले पाउने सम्भावना न्यून देखिएको छ ।

पुरानो घाटा र प्रशोधित तेलको उच्च मूल्यका कारण निगमले मूल्य समायोजन गर्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com