काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार सम्बन्धी अनुसन्धान अघि बढाएको तथ्य सार्वजनिक भएको छ।
खड्काको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ पेश गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अख्तियारले समेत उनीमाथि अनुसन्धान गरिरहेको र सो सम्बन्धमा केही फाइल तयार भइसकेको जानकारी सर्वोच्च अदालतमा दिएको हो।
दिपक खड्काकी पत्नी विनिता थापा ले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दायर गरेकी थिइन्। सोही निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले अख्तियारसँग सम्बन्धित फाइलसमेत झिकाउन आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णयगत भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरीमाथि अनुसन्धान गर्ने गर्दछ। खड्कामाथि पनि अवैध सम्पत्ति आर्जनको आरोपमा अनुसन्धान जारी रहेको जनाइएको छ।
यसैबीच, अख्तियारबाट आवश्यक फाइल प्रस्तुत नभएको भन्दै सर्वोच्च अदालतले आगामी शुक्रबार सम्बन्धित कागजातसहित उपस्थित हुन आदेश दिएको छ।


प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार













प्रतिक्रिया