काठमाडाैं । सम्पत्ति शुद्धीकरण अनुसन्धानको लागि पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आधिकारिक वक्तव्य जारी गर्दै सम्पत्ति सम्बन्धि विषय भ्रामक भएको दाबी गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले आफ्ना सम्पत्तिको यथार्थ विवरण सार्वजनिक पदमा रहेकाले सरकारी निकायमा पेश गरेको उल्लेख गर्दै सार्वजनिक भएको विवरणबाट भ्रममा नपर्न सबैमा अनुरोध गरेका छन्।

advertisement

उनी भन्छन्, ‘मेरो जीवन खुला पुस्तकको रूपमा रहेको छ र समयक्रमसँगै तथ्यहरू सार्वजनिक हुँदै जानेछन्। अतिरञ्जना गरी सार्वजनिक भएका विवरणबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

यससँगै देउवाले आफूमाथि उठेका दाबीहरू वास्तविक तथ्यबाट पृथक रहेको र आवश्यक प्रमाणसहित स्पष्ट हुने बताए।

उनले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेको वक्तव्य यस्तो छ :

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु,

म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।

म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।

नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।

देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।

मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।

भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।

स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।

बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरुञ्जना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।

जय नेपाल।

शेरबहादुर देउवा

 

प्रकाशित मिति: २५ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com