काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले गम्भीर अनियमितता गरेको निष्कर्ष निकाल्दै ब्रोकर नम्बर ५५ अन्तर्गत सञ्चालनमा रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनी को अनुमतिपत्र तत्काल निलम्बन गरेको छ।

बोर्डका अनुसार उक्त कम्पनीमार्फत सेयर कारोबार गरेका व्यवसायी दिपक भट्ट ले आफ्नै बैंक खाताबाट भुक्तानी नगरी विभिन्न संस्थाहरूको रकम प्रयोग गरेर सेयर खरिद गरेको पाइएको छ।

advertisement

अनुसन्धानका क्रममा भट्टले सेयर खरिदका लागि हिमालयन रि इन्स्योरेन्स बाट करिब २ अर्ब ७३ करोड रुपैयाँ, यसको सहायक हिमालयन सेक्युरिटिज बाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्स बाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरेको खुलेको छ। साथै नेपाल लाइफ इन्स्योरेन्स समूहअन्तर्गत कम्पनीबाट ३७ करोड तथा एचएलआइ लार्ज क्याप फण्ड बाट २५ करोड १४ लाख रुपैयाँसमेत प्रयोग भएको देखिएको छ। यसरी कुल करिब ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको रकम सेयर खरिदमा संलग्न भएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीले ग्राहकको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गर्ने, अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिने, खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने तथा बिक्रीकर्तालाई समयमै भुक्तानी नगर्ने जस्ता कार्य गरेको पाइएको छ।

चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व करिब ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको बोर्डले उल्लेख गरेको छ। यस्ता गतिविधिले पुँजी बजारमा नकारात्मक प्रभाव पार्ने भन्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र निलम्बन गरिएको हो।

बोर्डले निलम्बन अवधिमा कम्पनीलाई लगानीकर्ताको बाँकी रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ। साथै, उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य ब्रोकरमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने जनाएको छ।

यसैबीच, व्यवसायी दिपक भट्टलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीमाथि गैरकानुनी रूपमा आर्जित रकमको स्रोत लुकाउने, छल्ने तथा स्वरूप परिवर्तन गरी सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com