काठमाडौं । उपसभामुख चयन प्रक्रियाले राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको आन्तरिक मतभेद सतहमा ल्याएको छ। बिहीबार उम्मेदवारी दर्ताको क्रममा पार्टीभित्रै फरक–फरक धारणा देखिएका हुन्।
प्रतिनिधिसभामा झण्डै दुई तिहाइ प्रभाव राखेको रास्वपाको समर्थन जसलाई जान्छ, उसैको जित सुनिश्चित हुने अवस्था रहेको छ। यस्तो निर्णायक अवस्थामा पार्टी सभापति रवि लामिछाने ले सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने संकेत दिएका थिए। तर केही समयमै निर्णय परिवर्तन गर्दै पार्टीले श्रम संस्कृति पार्टी का उम्मेदवारलाई औपचारिक समर्थन गरेको हो।
श्रम संस्कृति पार्टीबाट २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर उपसभामुख पदका लागि उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी को उपस्थितिमा अशोक चौधरी ले समर्थन जनाएका थिए।
उता राप्रपाले सांसद सरस्वती लामा लाई उम्मेदवार बनाएको छ। राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही का अनुसार, सभापति लामिछानेले व्यक्तिगत रूपमा फोनमार्फत समर्थनको वचन दिएपछि मात्रै आफूहरूले उम्मेदवारी दर्ता गरेका थिए। तर अन्तिम समयमा रास्वपाले धारणा बदलेपछि राप्रपाले आफूलाई ‘धोका’ दिएको आरोप लगाएको छ।
शाहीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भनेका छन् कि आफ्नो पार्टीले सबैसँग छलफल गरेर उम्मेदवारी दिएको हो, र यदि अन्य दलले फरक निर्णय गर्छन् भने त्यसलाई राजनीतिक रूपमा लिने बताउँदै प्रतिक्रिया दिएका छन्।
यता रास्वपाका महामन्त्री बुर्लाकोटीले भने पार्टीले कसैलाई पहिल्यै प्रतिबद्धता नजनाएको दाबी गरेका छन्। उनका अनुसार विभिन्न दलसँग छलफल भइरहेकै अवस्थामा उम्मेदवारी दर्ता गर्नुभन्दा करिब १० मिनेटअघि मात्रै अन्तिम निर्णय गरिएको थियो।
पार्टी स्रोतका अनुसार उपसभामुख चयनमा राप्रपा वा श्रम संस्कृति पार्टीमध्ये कसलाई समर्थन गर्ने भन्ने विषयमा आन्तरिक विवाद थियो। सभापति लामिछानेसहित केही नेताहरू राप्रपाको पक्षमा थिए भने बालेन्द्र शाह, बुर्लाकोटी र मनिष झा श्रम संस्कृति पार्टीको पक्षमा उभिएका थिए।
श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने समूहले पार्टी अध्यक्ष हर्क साङ्पाङ सँग निरन्तर संवाद गरिरहेको थियो भने लामिछाने राप्रपासँग समन्वयमा थिए। अन्ततः लामिछानेले प्रारम्भिक वचन दिए पनि पार्टीभित्रको बहुमत धारणा प्रधानमन्त्री शाह पक्षतिर झुकेको देखिएको छ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया