काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा आर्थिक सहयोगका विविध पक्षमा विस्तृत छलफल भएको थियो।
सभामुख अर्यालले सन् १९५६ देखि स्थापना भएको कूटनीतिक सम्बन्धले दुई देशबीच गहिरो र मैत्रीपूर्ण सम्बन्ध कायम राखेको उल्लेख गर्दै नेपालले यस सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए। उनले पारस्परिक सम्मान र सहकार्यमा आधारित मित्रतालाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याए। साथै, स्विट्जरल्याण्डलाई सहभागितामूलक लोकतन्त्रको सफल उदाहरणका रूपमा उल्लेख गर्दै नेपालले पनि स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउने प्रयास गरिरहेको जानकारी दिए।
सभामुखले नेपालको सामाजिक–आर्थिक विकासमा स्विस विकास सहयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाल अझै पनि स्विट्जरल्याण्डको प्राथमिकता प्राप्त देशका रूपमा रहनु सकारात्मक भएको बताए। आगामी दिनमा विकास सहकार्य अझ विस्तार हुने विश्वास उनले व्यक्त गरे।
संसदीय सहकार्यबारे चर्चा गर्दै उनले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई देशका संसदबीचको सम्बन्ध अझ प्रगाढ हुने धारणा राखे। सन् २०२४ मा भएका जेनेभा भ्रमणहरूको स्मरण गर्दै उनले स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा दिए। साथै, संघीय संसदमा नेपाल–स्विट्जरल्याण्ड संसदीय मैत्री समूहलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए।
राजदूत मेउल्लीले जलवायु परिवर्तन र सामाजिक–आर्थिक विकासजस्ता साझा चुनौतीहरूमा नेपालसँग सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपालको लोकतान्त्रिक सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न स्विट्जरल्याण्ड सधैं सहयोगी रहने विश्वास समेत दिलाइन्।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया