काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित र जिम्मेवार भई राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिएका छन्।
भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले करिब ३६ महिनाको कठोर प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी अधिकृत पद हासिल गरेका क्याडेटहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले मातृभूमि र जनताप्रति पूर्ण समर्पणका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सैनिक आचरण, ‘चेन अफ कमान्ड’ र अनुशासनको सीमाभित्र रही सधैं कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिए। विविध सामाजिक पृष्ठभूमिबाट आएका जवानहरूको नेतृत्व गर्दै सक्षम र एकीकृत टोली निर्माण गर्न नवआयुक्त अधिकृतहरू सफल हुने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमका क्रममा प्रधानमन्त्री शाहले उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई उत्कृष्टताको प्रतीक खुकुरी तथा छडी प्रदान गरे।
प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा १८३ जना अधिकृत क्याडेटहरूले आयुक्त पद प्रदान कवाज प्रदर्शन गरेका थिए।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार












प्रतिक्रिया