काठमाडौं। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प ले यौन अपराधी जेफ्री एपस्टीनसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको दाबी गरेकी छन् ।

बिहीबार ह्वाइट हाउसको ग्रान्ड फोयरबाट झन्डै पाँच मिनेट लामो सम्बोधन गर्दै उनले भनिन्, “म र मेरो श्रीमान् डोनाल्ड ट्रम्प न्युयोर्क र पाम बिचका केही सामाजिक कार्यक्रमहरूमा एपस्टीनसँगै देखिए पनि उनी वा घिस्लेन म्याक्सवेलसँग मेरो कहिल्यै व्यक्तिगत मित्रता वा सम्बन्ध थिएन ।”

मेलानियाले सामाजिक सञ्जालमा वर्षौंदेखि आफ्नो नाम जोडेर फैलाइएका नक्कली तस्बिर र भ्रामक समाचारहरूलाई ‘राजनीतिक रूपमा प्रेरित’ भन्दै कडा आलोचना गरिन् । उनले आफू कहिल्यै एपस्टीनको निजी टापुमा नगएको, उनको विमानमा नचढेको र कुनै पनि कानुनी कागजात वा एफबीआईको बयानमा आफ्नो नाम नरहेको स्पष्ट पारिन् ।

उनले थप भनिन्, “म एपस्टीनकी पीडित होइन र उनले मलाई डोनाल्ड ट्रम्पसँग भेटाएका पनि होइनन् । हाम्रो भेट सन् १९९८ मा न्युयोर्कको एक पार्टीमा संयोगवश भएको थियो ।”

सम्बोधनको सबैभन्दा महत्वपूर्ण पक्ष भने उनले अमेरिकी संसद्लाई गरेको आह्वान थियो । प्रथम महिला मेलानिया ट्रम्प ले एपस्टीन प्रकरणका पीडित महिलाहरूलाई संसद्मा उपस्थित गराएर शपथसहित बयान दिने वातावरण बनाउन माग गरेकी छन् । उनले भनिन्, “हरेक महिलाले सार्वजनिक रूपमा आफ्नो कथा सुनाउन पाउनुपर्छ र ती बयानहरूलाई सधैँका लागि संसद्को रेकर्डमा राखिनुपर्छ, तब मात्र सत्य बाहिर आउनेछ ।”

यो पत्रकार सम्मेलन प्रशासनका लागि अप्रत्याशित थियो । इरानसँगको युद्ध र अन्य प्रमुख राजनीतिक मुद्दाहरूमा ध्यान केन्द्रित भइरहेका बेला मेलानियाको यो कदमले एपस्टीन प्रकरणलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ ।

सम्बोधन सकिएलगत्तै उनले कुनै पत्रकारको प्रश्नको जवाफ नदिई त्यहाँबाट बाहिरिएकी थिइन् । कतिपयले यसलाई आफ्नो छवि सुधार्ने प्रयासका रूपमा हेरेका छन् भने कतिपयले पीडितहरूलाई न्याय दिलाउने उनको साहसको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com