काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी नदेखिएको टिप्पणी गरेका छन्।
नेकपा एमाले को पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले जननिर्वाचित संसद्बाट बनेको प्रधानमन्त्रीले संसद्मा मौन बस्नुले गम्भीर प्रश्नहरू उठाएको बताए। जनताको सार्वभौम सत्ताको प्रयोग हुने संसद्मा प्रधानमन्त्रीले बोल्न आवश्यक नठान्नु स्वेच्छाचारी प्रवृत्तिको संकेत भएको उनको भनाइ थियो।
पोखरेलले एमाले र यसको नेतृत्वलाई भ्रष्टाचारमा डुबेको देखाउने उद्देश्यले योजनाबद्ध रूपमा भाष्य निर्माण गरिएको आरोप लगाए। उनले पुराना दल र नेताप्रति अविश्वास सिर्जना गर्दै नयाँ शक्तिलाई विकल्पका रूपमा प्रस्तुत गरिएको उल्लेख गरे।
उनका अनुसार सुशासन र विकासको नाममा सत्तामा आएका नेतृत्वहरूले आफ्नै प्रतिबद्धता अनुरूप पारदर्शिता कायम गर्न नसकेको देखिएको छ। अन्तरिम सरकारका मन्त्रीहरूले समेत सम्पत्ति विवरण सार्वजनिक नगरेको सन्दर्भ उल्लेख गर्दै उनले वर्तमान सरकारका मन्त्रीहरू पनि सो विषयमा आलटाल गरिरहेको बताए।
त्यसैगरी, उनले प्रतिनिधिसभाका सभामुखको सम्पत्ति विवरणप्रति पनि शंका व्यक्त गरे। उक्त विवरण धेरैका लागि विश्वासयोग्य नदेखिएको उनको भनाइ थियो।
पोखरेलले नेपालमा लोकतन्त्रको आधारलाई सुदृढ बनाउने र देशलाई गम्भीर राजनीतिक द्वन्द्वबाट जोगाउने नीतिका पक्षधरहरूमाथि नै प्रहार भइरहेको टिप्पणी समेत गरे।
प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार













प्रतिक्रिया