काठमाडौं । स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षणको रिपोर्ट डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था चाँडै लागू गरिने बताएकी छन्।
आइतबार वीर अस्पतालको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामी तथा उनका आफन्तसँग प्रत्यक्ष संवाद गर्दै अब परीक्षणपछि रिपोर्ट लिन अस्पताल धाउन नपर्ने व्यवस्था गरिने स्पष्ट पारिन्।
अनुगमनका क्रममा बिरामीहरूले रिपोर्ट आउन ढिलाइ हुने समस्या औंल्याएका थिए। अस्पताल प्रशासनले भने दैनिक करिब ५ हजार बिरामीले बहिरंग सेवा लिने भएकाले रिपोर्ट तयार हुन समय लाग्ने गरेको जनाएको छ।
मन्त्री मेहताले आगामी दिनमा बिरामीले आफ्नै माध्यमबाट डिजिटल रूपमा रिपोर्ट प्राप्त गर्न सक्ने प्रणाली विकास गरिने जानकारी दिँदै यसले सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरिन्।
त्यसैगरी, उनले उपचारका लागि आएका बिरामीलाई बाहिरबाट औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन्।
अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री मेहताले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारका योजनाहरू छिट्टै सार्वजनिक गरिने बताइन्। साथै, सरकारको निर्देशनअनुसार सार्वजनिक बिदाको दिन आइतबार पनि अस्पतालहरूमा बहिरंग सेवा सञ्चालन गरिएको जानकारी दिइएको छ।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार













प्रतिक्रिया