काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असोजमा गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।

गत फागुनमा चितवनमा महाधिवेशन गर्ने तयारी थियो तर संघीय निर्वाचनका कारण उक्त कार्यतालिका प्रभावित भएको थियो । गत कात्तिकमा सौराहामा बसेको विस्तारित बैठकले चुनावपछि छ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार भदौभित्र महाधिवेशन गर्नुपर्ने थियो ।

advertisement

रास्वपा नेताहरूका अनुसार अब असोजमा प्रथम महाधिवेशन गर्ने गरी आन्तरिक छलफल तीव्र बनाइएको छ । पार्टीका संगठन विभागका सचिव शंकर श्रेष्ठले सौराहा बैठकको निर्णयअनुसार महाधिवेशनको तयारी भइरहेको बताए ।

उनका अनुसार वैशाख २ गतेदेखि तल्लो तहको संगठन निर्माण कार्य सुरु हुने छ । संगठन निर्माण हुन बाँकी रहेका वडा र पालिकामा तदर्थ समिति गठन गरिनेछ । वैशाख महिनाभर वडा र पालिका तहमा तदर्थ समिति तथा वडा परिषद् गठन गर्ने योजना छ ।

पार्टीको आगामी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका र एजेन्डाबारे छलफल हुने बताइएको छ । प्रस्तावित कार्यतालिका अनुसार वैशाख र जेठमा वडा अधिवेशन, असार र साउनमा पालिका तथा जिल्ला अधिवेशन, भदौमा प्रदेश अधिवेशन र असोजमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ ।

रास्वपाको निर्वाचन आयोगका अनुसार चुनावअघि ४५२ वडा र ६२ पालिकाको अधिवेशन सकिएको छ । बाँकी वडा र पालिकामा तदर्थ समिति गठन गरेर अधिवेशन प्रक्रिया अघि बढाइने छ ।

पार्टी गठन भएको चार वर्ष पुग्न लाग्दा पनि रास्वपाको केन्द्रीय समिति पूर्णता पाउन सकेको छैन । विधानअनुसार केन्द्रीय समिति १२९ सदस्यीय हुनुपर्नेमा हाल ९२ सदस्य मात्र छन् । त्यस्तै अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र ३९ वटा विभागहरू पनि पूर्णता पाउन सकेका छैनन् ।

संगठन विभागका अनुसार हालसम्म ७७ जिल्लामध्ये डोल्पा र मनाङमा जिल्ला समिति बन्न बाँकी छ भने ७५३ पालिकामध्ये २८९ पालिका र ७ हजार ६४३ वडामध्ये ४ हजार ४८७ वडामा अझै संगठन निर्माण हुन सकेको छैन ।

रास्वपाले असोजमा गर्ने भनिएको पहिलो महाधिवेशन ले पार्टीको संगठनात्मक संरचना पूर्णता पाउने र भावी नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com