सर्लाही। भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा सर्वदलीय दलहरूले कडा विरोध जनाएका छन् ।

आज जिल्लामा सम्पन्न सर्वदलीय बैठकले नेपाल सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न माग गरेको छ ।

advertisement

बैठकले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको बेटी–रोटीको सम्बन्धमा यस निर्णयले प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ । सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवन, सामाजिक तथा आर्थिक गतिविधिमा प्रत्यक्ष प्रभाव पर्ने भन्दै निर्णय सच्याउनुपर्नेमा जोड दिइएको छ ।

सर्वदलीय प्रेस विज्ञप्तिमा विगतदेखि सर्लाहीका स्थानीयले भारतीय नम्बर प्लेटका सवारी साधन ३० किलोमिटर क्षेत्रभित्र सहज रूपमा आवतजावत गर्दै आएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति सुरक्षाको नाममा नियोजित रूपमा यस्तो सेवा बन्द गर्न खोजेको आरोप लगाइएको छ ।

साथै, बिना भन्सार सवारी सञ्चालनमा रोक लगाउने मानसिकताप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्तिमार्फत जिल्ला प्रशासन कार्यालयलाई भारतीय नम्बर प्लेटका सवारी साधनलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आग्रह गरिएको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दलहरूले दिएका छन् ।

उक्त विज्ञप्तिमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजनारायण साह, नेकपाका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला अध्यक्ष गणेश कुमार यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव तथा उज्यालो नेपालका जिल्ला उपाध्यक्ष राम स्वार्थ महतोले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com