तेहरान। अमेरिकाको कुनै पनि धम्की वा दबाबका सामु आफू नझुक्ने इरानले स्पष्ट पारेको छ ।
अमेरिकाले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी लगाउने घोषणा गरेपछि इरानले तत्काल कडा प्रतिक्रिया दिँदै कुनै पनि धम्की वा दबाबका सामु नझुक्ने बताएको हो ।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमा लेख्दै व्यङ्ग्य गर्दै भनेका छन्, “अहिले इन्धनको मूल्यको मजा लिनुहोस् । तथाकथित ‘नाकाबन्दी’ पछि तपाईंहरू ४ डलर–५ डलरको पेट्रोल मूल्यलाई सम्झनुहुनेछ ।”
इरानी नौसेनाले पनि होर्मुज जलडमरू नजिक आउने कुनै पनि सैन्य जहाजलाई कडा रूपमा सामना गरिने चेतावनी दिएको छ ।
वार्ता लगभग सहमति नजिक पुगेको अवस्थामा अमेरिकाले अत्यधिक माग राखेर लक्ष्य परिवर्तन गरेको र नाकाबन्दीको नीति अपनाएको इरानको आरोप छ ।
इरानी विदेश मन्त्रालयले पनि अमेरिकी कदमलाई ‘अविश्वास र दबाब’ को नीतिको निरन्तरता भनेको छ ।
विश्लेषकहरूका अनुसार होर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने देखिएको छ ।
यो घटनाक्रमले मध्यपूर्वमा शान्ति प्रक्रिया थप जटिल बन्दै गएको स्पष्ट संकेत गरेको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया