काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो सहभागिताप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले पछिल्लो समय राजनीतिमा देखिएको युवा नेतृत्वको उदयलाई आशावादी रूपमा लिएको बताएका हुन्। विगतमा राजनीतिक दलहरूको कार्यशैलीप्रति कडा टिप्पणी गर्ने गरेका शाह यसपटक भने नयाँ पुस्ताको सक्रियताप्रति नरम र उत्साहित देखिएका छन्।
उनले शिक्षित, देशको अवस्था बुझेका तथा आधुनिक प्रविधिमा दक्ष युवाहरूको सहभागिताले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे। ‘ऊर्जावान र सक्षम युवा नेतृत्वको आगमनले देशलाई सकारात्मक मार्गतर्फ अघि बढाउन मद्दत पुग्छ,’ उनले सन्देशमा उल्लेख गरेका छन्।
यसअघि राजनीतिक परिवर्तनहरू सतही मात्रै भएको र दलीय द्वन्द्वका कारण देश प्रयोगशाला जस्तो बनेको टिप्पणी गर्दै आएका शाहले अहिलेको परिवेशमा भने युवा नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेका छन्।
उनले नयाँ नेतृत्वलाई आर्थिक सुधारमा ध्यान दिन, छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन र आन्तरिक सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएका छन्। साथै, परनिर्भरता घटाउँदै आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।
पूर्वराजा शाहले राजनीतिक प्रतिशोध र द्वेष त्यागेर जनभावनाअनुसार अघि बढ्न आग्रह गर्दै सबै नेपालीले न्याय, शान्ति र समृद्धि प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्। साथै, देशको मौलिक पहिचानको संरक्षणलाई वर्तमान समयको प्रमुख दायित्वका रूपमा उनले औँल्याएका छन्।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार













प्रतिक्रिया