काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लचिलो र समेट्ने शैली अपनाउनु कमजोरी नभएको भन्दै त्यसलाई गलत रूपमा नबुझ्न आग्रह गरेका छन्।

मंगलबार काठमाडौँमा नेपाली कांग्रेसको ‘जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको शुभारम्भ गर्दै उनले पार्टीलाई सबैलाई समेटेर अघि बढाउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।

advertisement

थापाले पार्टीको विधान र अनुशासनविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। उनले भने, ‘लचिलो र विनम्र भएर सबैलाई समेट्ने हाम्रो प्रयासलाई कमजोरी ठानिनु हुँदैन, तर विधान र अनुशासनभन्दा बाहिरका कामलाई भने स्वीकार गर्न सकिँदैन।’

गगनकुमार थापाले  क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सबैलाई समेटेर अघि बढाइने प्रतिबद्धता जनाउँदै पार्टी अनुशासनभित्र रहेर काम गर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरे। सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै अवरोध गर्नेहरूलाई सचेत गराइने उनको भनाइ थियो।

थापाका अनुसार आगामी वैशाख १५ गतेभित्र देशभरका वडास्तरमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गर्नुपर्नेछ। उनले पार्टीले सदस्यता प्रक्रिया पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गरेको पनि जानकारी दिए।

उनले सदस्यता नवीकरण नगर्ने व्यक्तिलाई पार्टीको सक्रिय सदस्य मान्न नसकिने स्पष्ट पार्दै विशेष परिस्थितिमा भने छुट्टै व्यवस्था गरिने बताए।

थापाले पार्टीभित्र व्यापक सुधार (ग्रान्ड रिफर्म) आवश्यक रहेको उल्लेख गर्दै त्यसको सुरुवात यही कार्यक्रमबाट भएको बताए।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com