काठमाडौँ । पछिल्लो एक वर्षमा नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ।
२०८२ वैशाख १ मा प्रतितोला १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर मंगलबार २ लाख ९९ हजार ८०० रुपैयाँ पुगेको छ। यसअनुसार एक वर्षमा सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ ले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्नु यसको मुख्य कारण मानिएको छ।
भूराजनीतिक तनाव, केन्द्रीय बैंकहरूले सुनको सञ्चिति बढाउनु, अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनु तथा सेयर बजारमा गिरावट आउनुजस्ता कारणले सुनको मूल्य उकालो लागेको हो। पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण केही समय घटेको मूल्य पुनः बढ्न थालेको छ।
सुनचाँदी व्यवसायी तेजरत्न शाक्य का अनुसार भूराजनीतिक परिस्थितिका कारण एक वर्षमै सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ र आगामी दिनमा अझ वृद्धि हुन सक्ने संकेत देखिएको छ। उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि माग घटेकाले कारोबारमा भने कमी आएको बताए।
यसअघि २०८२ माघमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेपछि घटेर २ लाख ७५ हजार रुपैयाँसम्म झरेको थियो। चाँदीको मूल्य पनि उतारचढावसँगै एक समय ७ हजार रुपैयाँसम्म पुगेको थियो भने बीचमा ४ हजार रुपैयाँसम्म झरेको थियो।
पछिल्लो एक वर्षमा चाँदीको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। २०८२ वैशाखमा प्रतितोला १ हजार ९४५ रुपैयाँ रहेको चाँदी मंगलबार ५ हजार ६५ रुपैयाँ पुगेको छ, जसले तोलामा ३ हजार १२० रुपैयाँ वृद्धि देखाएको महासङ्घले जनाएको छ।
नयाँ वर्षको पहिलो दिन मंगलबार मात्रै सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ भने चाँदी पनि १६५ रुपैयाँले महँगिएको छ।
यद्यपि, मूल्य निरन्तर बढेपछि बजारमा माग घटेको र कारोबार सुस्त भएको व्यवसायीहरू बताउँछन्। चैतमा ठप्पजस्तै भएको कारोबार नयाँ वर्षसँगै सुधार हुने अपेक्षा गरिएको छ, तर उच्च मूल्यकै कारण व्यवसाय सञ्चालनमा चुनौती देखिएको छ।
नेपाल राष्ट्र बैंकले दैनिक २५ केजी सुन आयातको कोटा तोके पनि माग घटेका कारण पछिल्ला दुई महिनादेखि वाणिज्य बैंकहरूले सुन आयात नगरेको जानकारी दिइएको छ।
स्रोत : गोरखापत्र
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया