कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे ले प्रदेश सरकारको पुनर्गठन गरेका छन् ।
सरकारलाई थप प्रभावकारी बनाउने र सत्तारुढ दलहरूबीच आन्तरिक शक्ति सन्तुलन कायम गर्ने उद्देश्यले उनले मन्त्रिपरिषद्मा नयाँ अनुहारहरूलाई समेट्दै कार्यविभाजनमा परिवर्तन गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले नयाँ मन्त्रीहरूको नियुक्ति तथा कार्यविभाजनसम्बन्धी पत्र जारी गरेपछि गण्डकी प्रदेश सरकारले नयाँ स्वरूप प्राप्त गरेको छ ।
नयाँ मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जित शेरचन अर्थ मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।
नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।
यसअघि केही मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए ।
अब ती मन्त्रालयहरूले छुट्टै विभागीय नेतृत्व पाएका छन् ।
यस पुनर्गठनले आगामी बजेट निर्माण तथा नीति तथा कार्यक्रमको कार्यान्वयनमा गति दिने अपेक्षा गरिएको छ ।
सत्ता साझेदार दलहरूभित्र रहेका आन्तरिक विवाद र मन्त्रीका आकांक्षीहरूको व्यवस्थापन गर्दै मुख्यमन्त्री पाण्डेले समावेशी तथा सन्तुलित टिम निर्माण गर्ने प्रयास गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी आ-आफ्नो कार्यभार सम्हाल्ने छन् ।
यो राजनीतिक कदमले गण्डकी प्रदेशको सत्ता समीकरणलाई थप मजबुत बनाएको बताइएको छ ।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया