काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन अध्ययनका लागि गठन गरेको समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। सोही समितिले अध्ययन पूरा गरी बुधबार प्रतिवेदन पार्टी नेतृत्वलाई हस्तान्तरण गरेको हो।
प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक खनालले कार्की आयोगको प्रतिवेदनमाथि अध्ययन गरी कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार अध्ययन प्रतिवेदन ५२ पृष्ठ लामो रहेको छ। उनले जेनजी आन्दोलनको समग्र विश्लेषणमा भदौ २३ गतेका घटनालाई बढी प्राथमिकता दिइएको तर २४ गतेका घटनालाई अपेक्षाकृत कम समेटिएको उल्लेख गरे।
खनालले आयोगले समय अभावको कारण २४ गतेका घटनामा विस्तृत विवरण समेट्न नसकेको भन्ने भनाइप्रति असहमति जनाउँदै त्यस अवधिमा समय थपिएको दाबी पनि गरे। उनले २४ गतेका घटनासम्बन्धी विस्तृत विवरण आफूहरूले अलग्गै समेटेर प्रतिवेदनमा पेस गरेको बताए।
उनले अब उक्त प्रतिवेदनका आधारमा पार्टीले आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे।
उक्त आयोगको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध समेत कानुनी प्रक्रिया अघि बढाइएको थियो, जसपछि दुवै नेता हाल हिरासतबाट मुक्त भइसकेका छन्।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया