काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुने जिकिर गर्दै उनले यस्तो बताएका हुन्। उनले हालै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको गरिएकोमा आपत्ति जनाए।
‘भर्खरै सरकारले तयार गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ को बुँदा नं १४ ‘अन्तर्राष्ट्रिय कुटनीति र परराष्ट्र सम्बन्ध’ शीर्षकमा ‘नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ का रूपमा रूपान्तरण गर्ने’ र ‘सबैसँग सम दूरी र समनिकटताको नीति अवलम्बन गर्ने’ विषय उल्लेख गरिएको रहेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा प्रयोग गरिने प्रत्येक शब्दको विशेष अर्थ हुन्छ।’
नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ नभनेको र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग नगरेकाले उक्त शब्द प्रयोग हुन नहुने उनको भनाइ छ।
‘नेपालले आफ्नो भूराजनीतिक अवस्थितिलाई कहिल्यै ‘बफर राज्य’ भनेको छैन र छिमेकी मित्र राष्ट्रहरूले पनि यस्तो शब्द प्रयोग गरेका छैनन्। हाम्रा छिमेकीहरू बिच अनन्त दुश्मनी र द्वन्द्व पनि छैन, जसको सन्दर्भमा यस्तो शब्दको प्रयोग प्रासङ्गिक देखियोस्,’ उनले भने, ‘यही कुरा ‘समनिकटता’ र ‘समदूरी’ का हकमा पनि लागु हुन्छ। राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र बाह्य सम्बन्धमा सन्तुलन मुख्य विषय हो। मुद्दा, साझेदारी र सन्दर्भ अनुसार हाम्रा सम्बन्धका आयाम फरक हुन सक्छन्। त्यस अर्थमा हाम्रा सम्बन्धहरूमा सधैभरि उही मापन र आयतन नरहन पनि सक्छ। सरकारी दस्ताबेजहरूमा भाषिक प्रयोगहरूमा पर्याप्त सावधानी आवश्यक हुन्छ।’
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया