काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा परेका छन्। उनलाई राजनीतिक नेतृत्वतर्फ समावेश गरिएको हो।

टाइमले ३६ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकार तथा नेपालको इतिहासकै कान्छो प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ। फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको उल्लेखनीय समर्थन र पुराना नेताप्रतिको असन्तुष्टिका कारण उनले सानदार जित हासिल गरेको म्यागजिनले उल्लेख गरेको छ।

सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती रहेको टाइमको टिप्पणी छ।

टाइमका अनुसार उनको उदय दक्षिण एसियामा जडित वंशवादी र परम्परागत राजनीतिविरुद्धको बलियो सन्देशका रूपमा हेरिएको छ।

यस सूचीमा प्रधानमन्त्री शाहसँगै विश्वका अन्य प्रभावशाली नेता तथा व्यक्तित्वहरू पनि समावेश छन्। राजनीतिक क्षेत्रमा डोनाल्ड ट्रम्प, सी जिनपिङ, पोप लियो चौधौँ, क्लाउडिया सेनवाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु रहेका छन्।

त्यस्तै, व्यापार र प्रविधि क्षेत्रबाट सुन्दर पिचाई, माइकल डेल, डेभिड एलिसन र ग्विन सटवेल सूचीमा परेका छन्। कला तथा मनोरञ्जन क्षेत्रमा रणवीर कपूर, जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर, बेनिसियो डेल टोरो र गायक ल्युक कोम्ब्स समेटिएका छन्।

खेलकुदतर्फ स्कट्टी सेफलर, हिलारी नाइट र लान्डो नोरिस तथा सामाजिक सञ्जालका चर्चित व्यक्तित्व ‘मिस्टर बिस्ट’ पनि सूचीमा परेका छन्। नवप्रवर्तन र विचारको क्षेत्रमा डारियो अमोदेई, निकी ग्लेजर र विकास खन्नाले स्थान बनाएका छन्।

टाइममा प्रकाशित लेखमा भनिएको छ, “बालेनको उदयले नेपालको करिब ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र होइन, पुरानो राजनीतिक शैलीप्रतिको अस्वीकारलाई पनि प्रतिनिधित्व गरेको छ।”

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com