काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट सम्बन्धी आफ्नो निर्णयपछि चीन लगायत अन्य देशहरू सन्तुष्ट भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत लेख्दै चीन यस निर्णयबाट निकै खुसी भएको बताएका छन्।
ट्रम्पका अनुसार उनले होर्मुज स्ट्रेटलाई सधैँका लागि खुला राख्ने निर्णय गरेका छन्, जुन केवल चीनका लागि नभई विश्वभरका देशहरूको हितमा गरिएको हो। उनले यस्तो अवस्था पुनः नदोहरिने दाबी पनि गरेका छन्।
उनले चीनले इरानलाई हतियार आपूर्ति नगर्ने विषयमा सहमति जनाएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छिट्टै भेट हुने सम्भावना रहेको बताएका छन्। ट्रम्पले भेटका क्रममा चिनियाँ राष्ट्रपतिले उक्त निर्णयका लागि धन्यवाद दिने अपेक्षा व्यक्त गरेका छन्।
यसअघि चीनले होर्मुज स्ट्रेट विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग भएकाले यसको अवरोध वा नाकाबन्दी उचित नहुने बताएको थियो।
यसैबीच, अप्रिल १२ मा ट्रम्पले ट्रुथ सोशलमार्फत अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजहरूको निगरानी तथा नियन्त्रणका लागि अभियान सुरु गर्ने घोषणा गरेका थिए। उनले उक्त अभियानमा अन्य देशहरू पनि सहभागी हुने दाबी गरेका छन्।
मध्यपूर्वमा रहेको होर्मुज स्ट्रेट विश्वका प्रमुख रणनीतिक समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो मात्रामा तेल आपूर्ति हुने गर्दछ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया