काठमाडाैं । इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर मध्यपूर्वका अमेरिकी सैन्य संरचनामा प्रहार गरेको फाइनान्सियल टाइम्सले दाबी गरेको छ।
फाइनान्सियल टाइम्सका अनुसार इरानले गोप्य रूपमा एउटा चिनियाँ जासुसी उपग्रह प्राप्त गरेको र हालैको युद्धका क्रममा अमेरिकी सैन्य संरचनामा निशाना लगाउन सहयोग गरेको छ।
चुहिएका इरानी सैन्य कागजातको हवाला दिंदै अनुसार चीनले सन् २०२४ को अन्त्यतिर चीनबाट अन्तरिक्षमा प्रक्षेपण गरेको उपग्रह इरानी सेनाले प्राप्त गरेको फाइनान्सियल टाइम्सले खुलासा गरेको छ।
समय-अंकित कोअर्डिनेट सूची, उपग्रहका तस्बिरहरू र कक्षीय विश्लेषणले इरानी सेनाले पछि उक्त उपग्रहलाई प्रमुख अमेरिकी सैन्य स्थलहरूको निगरानी गर्ने जिम्मेवारी दिएको थियो। ती स्थानहरूमा ड्रोन र मिसाइल आक्रमण हुनुअघि र पछि मार्च महिनामा यी तस्बिरहरू खिचिएको फाइनान्सियल टाइम्सले जनाएको छ।
इरानले खाडी राष्ट्रहरूमा बारम्बार मिसाइल र ड्रोन आक्रमण गरेको युद्धको इरानी सेनाले चिनियाँ निर्मित उपग्रह प्रयोग गरेको खुलासाले चीनलाई कुटनीतिक रूपमा अप्ठ्यारो पर्नेछ।
चीन खाडी राष्ट्रहरूको सबैभन्दा ठूलो व्यापारिक साझेदार र उनीहरूको तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो।
अमेरिका र इसराइलसँगको युद्धमा रूस र चीनले सैन्य सहयोग प्रदान गरिरहेको इरानले स्वीकार गरेको छ। तर कस्तो खालको सहयोग भने खुलाएको छैन।
युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका थिए। रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको अमेरिकी विश्लेषण थियो। अब भने त्यस्तो आक्रमणका लागि चीनले समेत सहयोग गरेको देखिएको हो।
केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नदिन चीनलाई चेतावनी दिएका थिए।
चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही मिडियाले समाचार लेखेका छन्। चीनले केही काँधबाट विमान खसाल्न मिल्ने रकेट सहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको तीनले जनाएका छन्।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। ‘यदि चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि ठूलो समस्या हुनेछ,’ ट्रम्पले जबाफमा भनेका थिए।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया