काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुज स्ट्रेटलाई लिएर गरेको आफ्नो निर्णयपछि चीन र अन्य देशहरू खुसी भएको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेख्दै भनेका छन्, ‘चीन यस कुराबाट धेरै खुसी छ कि म होर्मुज स्ट्रेटलाई सधैँका लागि खुला गर्दै छु । म यो उनीहरूका लागि मात्र होइन, विश्वभरका लागि गरिरहेको छु । यस्तो अवस्था फेरि कहिल्यै आउने छैन ।’
उनका अनुसार चीनले इरानलाई हतियार नपठाउने विषयमा सहमति जनाएको छ । ट्रम्पले चीनका राष्ट्रपति सी चीनफिङसँग छिट्टै भेट हुने सम्भावना रहेको उल्लेख गर्दै भने, ‘भेट हुँदा चिनियाँ राष्ट्रपतिले निर्णयका लागि धन्यवाद दिँदै मलाई अँगालो हाल्नुहुनेछ ।’
यसअघि चीनले होर्मुज स्ट्रेट विश्वको अत्यन्त महत्त्वपूर्ण व्यापारिक मार्ग भएको उल्लेख गर्दै यसको नाकाबन्दी वा अवरोध गलत हुने बताएको थियो ।
१२ अप्रिलमा डोनाल्ड ट्रम्प ले ट्रुथ सोशलमार्फत अमेरिकी नौसेनाले होर्मुज स्ट्रेटमा आवतजावत गर्ने जहाजहरूलाई रोक्ने अभियान सुरु गर्ने घोषणा गरेका थिए । उनले यस अभियानमा अन्य देशहरू पनि सहभागी हुने दाबी गरेका थिए । होर्मुज स्ट्रेट मध्यपूर्वको अत्यन्त रणनीतिक समुद्री मार्ग हो, जहाँबाट विश्वको ठूलो हिस्सा तेल ढुवानी हुन्छ ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया