काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा लामो छलफल भएको छ। संघीयता कार्यान्वयनसँग सम्बन्धित जटिलता समाधान गर्ने उद्देश्यले आयोजना गरिएको यो बैठक औपचारिकतामा सीमित नरही खुला र संवादमुखी बनेको बताइएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले ‘इन्टरएक्टिभ’ शैली अपनाउँदै मुख्यमन्त्रीहरूका समस्या ध्यानपूर्वक सुनेका थिए। उनीहरूले आफ्ना प्रदेशका चुनौती प्रस्तुत गर्दा प्रधानमन्त्री शाहले बीचबीचमै प्रश्न सोध्दै विषय स्पष्ट पार्ने र समाधानका विकल्पमा तत्काल छलफल अघि बढाउने शैली देखाएका थिए। मुख्यमन्त्रीहरूले पनि आफ्ना भोगाइ र अप्ठ्याराहरू खुलेर प्रस्तुत गरेका थिए।
बैठकमा संघ र प्रदेशबीच देखिएका नीतिगत तथा प्राविधिक अवरोधहरू हटाउन साझा संयन्त्रमार्फत काम अघि बढाउने विषयमा सहमति बनेको छ। प्रधानमन्त्री शाहले संघीय सरकार प्रदेशसँग मिलेर हरेक समस्या समाधान गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक सहकार्यमा ढिलाइ नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, प्रदेश सरकारले आफैँ गर्न सक्ने सुधारका कामहरू तत्काल अघि बढाउन प्रधानमन्त्रीले आग्रह गरेका छन्। बजेट विनियोजनमा कुनै प्रकारको विभेद नहुने स्पष्टता पनि उनले बैठकमा दिएका थिए।
छलफलपछि बाहिरिँदा मुख्यमन्त्रीहरूले बैठकलाई सकारात्मक र नतिजामुखी अनुभव भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार प्रधानमन्त्री शाहको शैली सुन्ने, बुझ्ने र तत्काल समाधान खोज्ने किसिमको देखिएको छ, जसले संघीयता कार्यान्वयनमा नयाँ ऊर्जा दिएको छ।
प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार











प्रतिक्रिया