काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफूले अघि बढाएको हाइप्रोफाइल पक्राउ अभियानमा अदालतबाट अवरोध आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो गति सुस्त भएको हो भन्ने प्रश्नमा हाँस्दै प्रतिक्रिया दिए, “के गर्ने, अदालतले नै छाड्ने रहेछ।”
पत्रकारहरूसँग पहिलोपटक अन्तरक्रिया गर्दै गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न हतार भएको स्वीकार गरे। “हामीले रातभर नसुती पक्राउ गरेका थियौँ, तर अन्त्यमा के भयो भन्ने तपाईंहरूलाई थाहै छ,” उनले भने। यसबाट आफूले थप तयारी आवश्यक रहेछ भन्ने महसुस गरेको पनि उनले बताए।
अदालतको आदेशमा पक्राउ परेका उच्च पदस्थहरू छुटिरहेकोप्रति असन्तुष्टि जनाउँदै गुरुङले अब कानुनी पक्षमा गहिरो अध्ययन गरिरहेको जानकारी दिए। उनले उच्च पदस्थहरूको पक्राउ अभियान नरोकिने स्पष्ट पार्दै भने, “अब प्रमाण बलियो बनाइनेछ।”
जतिसुकै ठूला व्यक्तिहरू भए पनि कारबाहीबाट नछोड्ने उनले जिकिर गरे। प्रहरीद्वारा पक्राउ गरिएका आरोपितलाई अदालतले छोड्न नसक्ने गरी प्रमाण सङ्कलन गर्ने दिशामा आफ्नो टोली काम गरिरहेको उनले बताए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलन दमन गरेको स्मरण गर्दै गुरुङले भने, “अहिले म सबैलाई न्याय दिने स्थानमा छु, त्यसैले उहाँलाई पनि अन्याय गर्नु हुँदैन।”
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया