काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता (पिस डिल) का लागि आफू स्वयं पाकिस्तानको राजधानी इस्लामाबाद जान सक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता र पाकिस्तान भ्रमणको सम्भावनाबारे उक्त धारणा राखेका छन् ।

“पाकिस्तानले निकै राम्रो गरिरहेको छ । यदि त्यहाँ (पाकिस्तानमा) सम्झौतामा हस्ताक्षर हुन्छ भने म इस्लामाबाद जान सक्छु,” ट्रम्पले भनेका छन् ।

advertisement

उनले पाकिस्तानको नेतृत्वको प्रशंसा गर्दै त्यहाँका प्रधानमन्त्री र फिल्ड मार्शलले उत्कृष्ट काम गरिरहेको उल्लेख गरेका छन् ।

यसैबीच, शान्ति सम्झौता कै सिलसिलामा पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीर र गृहमन्त्री मोहसिन नक़वी नेतृत्वको टोली इरानको राजधानी तेहरान पुगेको छ ।

पाकिस्तानी प्रतिनिधिमण्डलले बिहीबार राति इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग भेटवार्ता गरेको छ ।

यसअघि गत शनिबार इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा लामो पहिलो चरणको वार्ता भएको थियो, जुन निष्कर्षविहीन टुङ्गिएको थियो ।

उक्त वार्तामा अमेरिकाका तर्फबाट उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र जेरेड कुश्नर सहभागी थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बगर गालिबाफले गरेका थिए ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

नेभाडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनेका छन्, “इरानको युद्धसँग जोडिएको मुद्दामा राम्रो प्रगति भइरहेको छ र यो छिट्टै समाप्त हुनुपर्छ ।”

ह्वाइट हाउसले दोस्रो चरणको वार्ताका लागि छलफल जारी रहे पनि स्थान र समय भने तय भइनसकेको जनाएको छ ।

इरानले यसै साता अमेरिकाले हर्मुज स्ट्रेटको नाकाबन्दी जारी राखे युद्धविराम तोडिन सक्ने चेतावनी दिएको थियो ।

अमेरिकी सेनाका अनुसार नाकाबन्दीका कारण ओमानको खाडीमा कैयौँ व्यापारिक जहाजहरू फर्कनुपरेको छ ।

यद्यपि, फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले हर्मुज स्ट्रेट खुल्दै गरेको र जहाजहरू फिर्ता आउन थालेको दाबी गरेका छन् ।

उनले इरानसँग “ठूलो सम्झौता” हुन सक्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँगको युद्धविराम पालना गर्न अपिल गरेका छन् ।

“मलाई आशा छ यो महत्वपूर्ण समयमा हिजबुल्लाहले उचित व्यवहार गर्नेछ,” उनले लेखेका छन् ।

लेबनान र इजरायलबीच १० दिने युद्धविराम लागू भइसकेको छ ।

ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ औन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संवादपछि यो सहमति भएको घोषणा गरेका छन् ।

इजरायली अधिकारीहरूका अनुसार युद्धविराम अवधिमा हिजबुल्लाहले आक्रमण गरेमा मात्र इजरायलले सैन्य जवाफ दिनेछ ।

यद्यपि, प्रधानमन्त्री नेतान्याहुले स्थायी शान्तिका लागि हिजबुल्लाहको निशस्त्रीकरण अनिवार्य रहेको बताएका छन् ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com