काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका-५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको जानकारी दिएका छन् ।
उनले भने, “अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्ने काम आजैदेखि लागू भएको छ ।”
मन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको बताए । उनले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।
केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए । उनले करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए ।
नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै मन्त्रीले सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे । उनले सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको जानकारी दिए । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले बताए ।
यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको छ । भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तःशुल्क स्टिकरलगायत महत्वपूर्ण कागजात छाप्ने योजना रहेको कार्यकारी निर्देशक ढुङ्गानाले बताए ।
निरीक्षणका क्रममा सांसदहरू मधुकुमार चौलागाईं, डा राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया