काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले अनुभव नभएका नयाँ पात्रहरूको राजनीतिक उदयले राष्ट्रिय एकता र सार्वभौमिकतामा गम्भीर प्रश्नचिह्न खडा गरेको बताएकी छन्।
‘भूमिगत महिला’ नामक पुस्तकमाथिको छलफल कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रति लक्षित गर्दै देशको सार्वभौमिकता प्रति चिन्ता व्यक्त गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले अनुभवी नयाँ पात्र आउनु र अनुभव नभएकाहरू आउनुमा धेरै भिन्नता हुने तर्क गरिन्। उनले भनिन्, ‘अहिले नयाँ पात्रहरूको उदय भएको छ, तर अनुभव नभएका नयाँ पात्रहरूको आगमनले हाम्रो राष्ट्रिय परिस्थिति, एकता र स्वाभिमानमा ठुलो प्रश्न खडा गरेको छ।’
उनले अनुभवविहीन पात्रहरूका कारण देशको सार्वभौमिकता, जनजीविका र नागरिकले प्राप्त गरेका मौलिक हकहरू नै जोखिममा पर्न सक्ने बताइन्। ‘हामीले प्राप्त गरेको मौलिक हक, स्वतन्त्रता र लोकतन्त्रको भविष्य के हुने भन्ने प्रश्न अहिले टड्कारो बनेको छ,’ भण्डारीले थपिन्।
यस्तो असहज परिस्थितिमा राज्यका सबै अंग र नागरिकहरूको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो। उनले ३५/३६ साल र ६२/६३ सालको आन्दोलनको स्मरण गर्दै राष्ट्रलाई अप्ठ्यारो परेका बेला महिलाहरूको भूमिका सधैँ अग्रमोर्चामा रहेको उल्लेख गरिन्।
आफू नेकपा एमालेको भ्रातृ संस्थाको नेतृत्वमा रहँदाको अनुभव सुनाउँदै उनले राजनीतिक दलहरूले महिला सहभागितालाई केवल संख्यामा मात्र सीमित नगरी अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिइन्।
पूर्वराष्ट्रपति भण्डारीले बदलिएको राजनीतिक परिवेशमा वरिष्ठ राजनीतिक दल र नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बेला आएको समेत बताइन्।
प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया