काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता सुदृढ गर्ने अवसर सिर्जना भएको बताएका छन्।
सर्वोच्च अदालतको फैसला सार्वजनिक भएपछि उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अब पार्टीलाई थप मजबुत बनाउँदै सामूहिक यात्रामा अघि बढ्ने वातावरण तयार भएको उल्लेख गरेका हुन्।
उनले आफ्नो अभिव्यक्तिमा यो विषयलाई कसैको जित वा हारका रूपमा नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। अदालतको निर्णयले पार्टीका सबै पक्षलाई एक ठाउँमा उभ्याउने आधार तयार गरेको उनको भनाइ छ।
सभापति थापाले देशभित्र तथा विदेशमा रहेका पार्टी सदस्य र शुभेच्छुकहरूलाई आ–आफ्नो स्थानबाट अझ जिम्मेवार ढंगले पार्टीको एकता, पुनर्जागरण र सुदृढीकरणमा योगदान दिन आग्रह गरेका छन्। साथै, यो सम्पूर्ण प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्वपूर्ण रहेको स्वीकार गर्दै उनले सक्रिय रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सशक्तीकरणको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
अन्त्यमा, अग्रजहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताको अपेक्षा पूरा गर्न सक्षम, समावेशी र सक्षम पार्टी निर्माणका लागि सबै एकताबद्ध भएर अघि बढ्न उनले आह्वान गरेका छन्।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया