एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविराम सम्झौता तोकिएको समयभित्र सम्पन्न नभए पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएका छन्।
एरिजोनाबाट वासिङ्टन फर्किने क्रममा ‘एयर फोर्स वन’मा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी बुधबारसम्म कुनै ठोस सम्झौता नभए युद्धविराम निरन्तर नहुन सक्ने संकेत गरे। साथै, इरानका बन्दरगाहमाथि लगाइएको नाकाबन्दी भने यथावत् रहने उनको भनाइ थियो। उनले आवश्यक परे पुनः बमबारी सुरु गर्नुपर्ने अवस्था आउन सक्ने समेत उल्लेख गरे।
ट्रम्पको उक्त अभिव्यक्तिलाई इरानले कडा रूपमा अस्वीकार गरेको छ। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफ ले सामाजिक सञ्जालमार्फत ट्रम्पमाथि ‘एकैपटक सातवटा भ्रामक दाबी’ गरेको आरोप लगाएका छन्।
यसअघि ट्रम्पले इरान अनिश्चितकालका लागि युद्ध रोक्न र सम्वर्धित युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए। तर इरानले उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ।
गालिबफले चेतावनी दिँदै भनेका छन् कि यदि अमेरिकाले नाकाबन्दी जारी राख्यो भने रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग खुला नरहन सक्छ र त्यस क्षेत्रबाट हुने आवतजावत इरानको अनुमति बिना सम्भव नहुनेछ।
तनावपूर्ण अवस्थाबीच कूटनीतिक पहल भने जारी रहेको छ। अमेरिका र इरानबीच आगामी सोमबार इस्लामाबाद मा वार्ताको अर्को चरण हुने सम्भावना रहेको जनाइएको छ, जहाँ दुवै देशका प्रतिनिधि आइतबारसम्म पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, पाकिस्तानका सेना प्रमुख आसिम मुनीर ले तेहरान पुगेर इरानी नेतृत्वसँग छलफल गर्दै वार्ताका लागि वातावरण तयार पार्ने प्रयास गरेका छन्। साथै, कतार र टर्कीका नेतृत्वले समेत पाकिस्तानको शान्ति प्रयासलाई समर्थन जनाएका छन्।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया