काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि आन्तरिक परामर्शमा सक्रिय भएका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी दायर रिट अदालतले खारेज गरेपछि खड्का आफ्ना निकटस्थ नेताहरूसँग रणनीतिक छलफलमा जुटेका हुन्। शनिबार बिहानदेखि काठमाडौँको गोल्फुटारस्थित आफ्नै निवासमा उनी लगातार छलफलमा रहेको स्रोतले जनाएको छ।
छलफलमा सहभागी हुन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की समेत खड्का निवास पुगेका छन्।
त्यसैगरी, निवर्तमान केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलिया लगायतका नेताहरू पनि उक्त परामर्शमा सहभागी छन्।
खड्काले निकट नेताहरूसँगको छलफलपछि अदालतको निर्णयपछिको आफ्नो राजनीतिक धारणा र आगामी कदमबारे औपचारिक वक्तव्य सार्वजनिक गर्ने तयारी गरेका छन्।
स्रोतका अनुसार आइतबारसम्ममा उनको आधिकारिक धारणा सार्वजनिक हुने सम्भावना रहेको छ। साथै, उनले पार्टीका शीर्ष नेताहरूसँग समेत अनौपचारिक संवाद अघि बढाउने तयारी गरेका छन्।
नियमित महाधिवेशनको पक्षमा रहेका शीर्ष नेतृत्वसँग छलफल गर्ने तयारी भए पनि त्यसका लागि समय भने अझै तय भइनसकेको बताइएको छ।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार













प्रतिक्रिया