काठमाडौं । गगनकुमार थापा ले सर्वोच्च अदालतको पछिल्लो फैसलाले पार्टीलाई फेरि एकताबद्ध बनाउँदै सुदृढीकरणको साझा यात्रामा अघि बढ्ने वातावरण सिर्जना गरेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सर्वोच्च अदालत को निर्णयलाई उनले जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा व्याख्या गरेका हुन्।

advertisement

‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो,’ थापाले उल्लेख गरेका छन्।

उनका अनुसार अदालतको निर्णयले पार्टीभित्र एकता मजबुत बनाउने आधार तयार गरेको छ। उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकताबद्ध भई पार्टी सुदृढीकरणको अभियानमा सक्रिय हुन आह्वान गरेका छन्।

थापाले देशभित्र तथा विदेशमा रहेका समर्थकहरूले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टीको पुनर्जागरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु,’ उनले भने।

त्यस्तै, नेपाली कांग्रेस को पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै उनले महाधिवेशनलाई सफल बनाउँदै पार्टी रूपान्तरण र सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।

अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्ने तथा समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी निर्माणका लागि सबै एकजुट हुनुपर्ने थापाको भनाइ छ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com