काठमाडौं । इन्धन खपत कम गर्ने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिने निर्णय लागू गरेपछि यसको प्रभाव सडक यातायातमा आंशिक रूपमा देखिएको छ।
बिदाको दिनमा समेत काठमाडौंका प्रमुख चोकहरू कनंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटीमा बिहान ९ बजेदेखि ११ बजेसम्म उल्लेख्य सवारी चाप देखिएको छ। केही स्थानमा त शनिबारको तुलनामा आइतबार अझ बढी भीडभाड देखिएको छ।

सरकारी बिदा भए पनि अधिकांश निजी कम्पनीहरू भने नियमित रूपमा सञ्चालनमा रहेकाले सडकमा सवारी चाप पूर्ण रूपमा घट्न नसकेको देखिन्छ।
यद्यपि, समग्र रूपमा सवारीसाधनको संख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन्। “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन, उनले बताए।

ट्राफिक प्रहरीका अनुसार मुख्य चोकहरूमा देखिने जाम सवारी व्यवस्थापन र आवतजावत मिलाउने क्रममा भएको ट्राफिक नियन्त्रणका कारण समेत हुन सक्छ।
सरकारको बिदा नीतिले इन्धन खपत घटाउने लक्ष्य राखे पनि यसको प्रभाव पूर्ण रूपमा देखिन अझै समय लाग्ने देखिएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया