काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारलाई उचित विकल्पबिना जबरजस्ती उठिबास गराइएको भन्दै सरकारप्रति आपत्ति जनाएको छ।
सोमबार पार्टीका नेता गणेशमान पुन ले विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला कदमहरू अमानवीय र लोकतन्त्रको मर्मविपरीत रहेको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, सुकुम्वासी र सीमान्तकृतको मुद्दामा सरकारले जीविकोपार्जनको विकल्प नदिई झुप्रा भत्काउने कार्य निन्दनीय छ। यस्तो अमानवीय कदमले पीडित परिवारलाई बिचल्ली पार्नुका साथै राज्यप्रतिको जनविश्वास कमजोर बनाउँछ।
पार्टीले समुचित पुनर्वासको व्यवस्था नगरी बासस्थान हटाउने कार्य नगर्न सरकारसँग आग्रह गरेको छ। हाल सरकारले रुपन्देही, सुनसरी लगायत जिल्लामा मापदण्डविपरीत संरचना बनेको भन्दै डोजर प्रयोग गरिरहेको जनाइएको छ।
त्यस्तै, नेकपाले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि अंकुश लगाउने प्रयासप्रति पनि आपत्ति जनाएको छ। पञ्चायती कालखण्डमा समेत संगठित हुन पाउने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्ता प्रतिबन्ध असंवैधानिक भएको पार्टीको भनाइ छ।
महँगी र कालोबजारी बढ्दो क्रममा रहेको भन्दै नेकपाले यसलाई तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। नयाँ सरकार गठनपछि बजारमा देखिएको मूल्यवृद्धि र सुशासनको अवस्थाप्रति पार्टीले चिन्ता व्यक्त गरेको छ।
सरकारका केही सकारात्मक प्रतिबद्धतालाई स्वागत गरे पनि शासन सञ्चालनमा देखिएको पूर्वाग्रही र एकपक्षीय दृष्टिकोण चिन्ताजनक रहेको नेकपाको ठहर छ। “हामी लोकतन्त्रको सुदृढीकरण र सर्भिसिङका पक्षमा छौँ,” विज्ञप्तिमा उल्लेख छ।
नेकपाले सरकारलाई ‘स्टन्टबाजी’ त्यागेर सुकुम्वासी, किसान र मजदुरप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया