काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथि लगाइएको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएपछि त्यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन्।
उनले यस्तो निर्णयले युक्रेनमाथि भइरहेका आक्रमणलाई थप तीव्र बनाउने जोखिम रहेको बताए।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युद्धकै लागि प्रयोग भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यस्तो आर्थिक प्रवाहले युक्रेनमा भइरहेको विनाशकारी आक्रमणलाई प्रत्यक्ष सहयोग पुर्याइरहेको छ । यद्यपि उहाँले स्पष्ट रूपमा नाम नलिएको भए पनि अमेरिकी प्रशासनले हालै रूसी तेल निर्यातसम्बन्धी प्रतिबन्धमा दिएको अस्थायी छुटतर्फ उहाँको सङ्केत रहेको बुझिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शुक्रबार रूसी तेल तथा पेट्रोलियम पदार्थलाई समुद्रमार्फत बिक्री गर्न अनुमति दिने गरी एक महिनाका लागि छुट विस्तार गरेको थियो । यो कदम मुख्यतः मध्यपूर्व युद्धका कारण बढेको ऊर्जा मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले चालिएको बताइएको छ । तर यसअघि अमेरिकी अर्थ मन्त्रालयले यस्तो छुट नवीकरण नहुने सङ्केत दिएको केही दिनमै निर्णय उल्टिएको देखिएको छ।
जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रूसी ट्याङ्करहरू अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लङ्घन गर्दै कच्चा तेल बोकेर हिँडिरहेका छन्, जसमा एक करोड २० लाख टनभन्दा बढी तेल रहेको अनुमान छ । उनले प्रतिबन्ध खुकुलो पारिएकाले यी स्रोतहरू सजिलै बिक्री हुन सक्ने र त्यसबाट करिब १० अर्ब डलर आम्दानी हुने दाबी गरे, जुन रकम प्रत्यक्ष रूपमा युक्रेनविरुद्धको आक्रमणमा प्रयोग हुन सक्ने उनको भनाइ छ।
उनले पछिल्लो एक सातामा मात्र रुसले दुई हजार ३६० भन्दा बढी आक्रमणकारी ड्रोन, एक हजार ३२० भन्दा बढी निर्देशित हवाई बम र करिब ६० मिसाइल युक्रेनी सहरहरूमा प्रहार गरेको जानकारी दिए। यसले युद्धको तीव्रता अझै घट्न नसकेको स्पष्ट पारेको छ।
उत्तरी सहर चेर्निहिभमा राति भएको आक्रमणमा १६ वर्षीय एक किशोरको मृत्यु भएको र चार जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । यस्तो घटनाले सर्वसाधारणमा त्रास र असुरक्षा झन् बढाएको छ ।
जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रूसी तेल ढुवानी रोक्न र ट्याङ्करहरूलाई बन्दरगाहसम्म पुग्न नदिन कडा कदम चाल्न आग्रह गरे । उनले रूसी तेल निर्यात घटाउन सके मात्र आक्रमणकारीको क्षमता कमजोर पार्न सकिने र त्यसतर्फ युक्रेनले आफ्ना दीर्घ दूरीका प्रतिबन्धात्मक उपायहरू जारी राख्ने बताए।
- रासस
प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार













प्रतिक्रिया