काठमाडौ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबीच भएको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७, सीता पाइला टोलमा ७३ वर्षीय रामप्रसाद राईले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय माहाशेर राईको मृत्यु भएको हो।
प्राप्त विवरणअनुसार आइतबार साँझ करिब सवा ८ बजे दुवै छिमेकीबीच सामान्य विषयमा विवाद भएको थियो। सोही क्रममा आवेगमा आएका रामप्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। प्रहारबाट माहाशेरको छातीको दायाँ माथिल्लो भागमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको भए पनि चिकित्सकले अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो।
घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया