काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय र विभिन्न प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ। बैठकमा विश्वविद्यालय र प्रतिष्ठानमा देखिएका समसामयिक समस्या तथा तिनका समाधानका उपायबारे विस्तृत विमर्श हुने जनाइएको छ। साथै, तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि केन्द्रित छलफल हुनेछ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू सहभागी हुनेछन्। यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरूको पनि उपस्थिति रहनेछ।
त्यसैगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संवाद गर्नेछन्। साथै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल हुने जनाइएको छ।
यसै क्रममा कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार












प्रतिक्रिया