काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन खारेज गर्ने विषयलाई चरम अलोकतान्त्रिक कदम भएको बताएका छन् । सरकारले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
ज्ञवालीले विद्यार्थी संगठन हटाउने प्रयोजनका लागि विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको गम्भीर हस्तक्षेप भएको बताएका छन् । उनका अनुसार यस्तो निर्णयले विश्वविद्यालयको स्वतन्त्रता नै कमजोर पार्नेछ ।
उनले पञ्चायतकालमै समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यस्तो कदमप्रति प्रश्न उठाउँदै उपकुलपतिहरूले कसरी यसमा हस्ताक्षर गरे होलान् भन्ने आश्चर्य व्यक्त गरेका छन् ।
ज्ञवालीका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या देखिए पनि, मूल उद्देश्यबाट विचलन भए पनि त्यसलाई निषेध गर्नु समाधान होइन । शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
विद्यार्थी संगठनलाई निषेध गर्नु समस्याको समाधान नभएको बताउँदै उनले संवाद, रचनात्मक सहकार्य र शैक्षिक सुधारका लागि उनीहरूको भूमिकालाई उपयोग गर्नुपर्ने सुझाव दिएका छन् । उनले लेखेका छन्, “के तपाईं कपालमा चाया पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?”
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार












प्रतिक्रिया