काठमाडौं। नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा दायर भएको उच्च प्रोफाइल मुद्दाको सुनुवाइ सोमबार स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा पेसी तोकिएको थियो ।

advertisement

तर जिल्ला सरकारी वकिल कार्यालयको निवेदनका कारण आजको सुनुवाइ स्थगित गरिएको हो ।

यो मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत उच्च पदाधिकारी र बिचौलियाहरू विरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, राज्यविरुद्धको अपराध र अरू अभियोगमा मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएको साढे दुई वर्षपछि जिल्ला अदालतले अन्तिम सुनुवाइको चरणमा पुगेको थियो ।

२०८० जेठ १० मा दायर भएको अभियोगपत्रमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना विरुद्ध मुद्दा चलाइएको थियो ।

मुख्य बिचौलियाको भूमिकामा रहेका केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनिता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि अभियुक्त छन् ।

मुद्दा दायर हुँदा १८ जना पक्राउ परेका थिए ।

तीमध्ये २ जनालाई धरौटीमा र १६ जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गरिएको थियो ।

१२ जना फरार थिए । पछि केही फरार अभियुक्त पक्राउ परे पनि अझै केही व्यक्ति फरार नै छन् ।

२०८१ वैशाख ९ मा केशव दुलालसहित ५ जनाविरुद्ध र २०८१ साउन ४ मा बेचन झाविरुद्ध पूरक अभियोगपत्र दायर भएको थियो ।

थुनछेक बहस र आदेशबाहेक तीनवटै मुद्दालाई एकसाथ लगाउमा राखेर सुनुवाइ हुँदै आएको छ ।

जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकाहरूलाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखिएकाले थुनामा राखेर मुद्दा चलाउन आदेश दिएको थियो ।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी वा तारेखमा छुटेका छन् भने केही थुनामै छन् ।

यो प्रकरणमा अघिल्ला दुई वर्षमा मुद्दाले पर्याप्त प्राथमिकता पाएन ।

अहिले जिल्ला अदालतमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँण, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, रामबहादुर थापाका छोरा प्रतीक थापा, इन्द्रजित राई र उनका छोरा नीरज राईसहितका विरुद्ध मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिल कार्यालयले निवेदन दिँदा सुनुवाइ स्थगित भए पनि मुद्दाको अन्तिम किनारा चाँडै लाग्ने अपेक्षा गरिएको छ ।

यो प्रकरणले नेपाली राजनीति र प्रशासनमा ठूलो विवाद निम्त्याएको थियो र सयौं नेपाली नागरिक ठगिएको आरोप छ ।

अदालतले अर्को पेसी कहिले तोक्छ भन्ने बारे अझै जानकारी आएको छैन ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com