इस्लामावाद। मध्यपूर्वमा बढ्दो तनावबीच इरान र अमेरिका बीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पाकिस्तान को राजधानी इस्लामावाद मा वार्ताको दोस्रो चरण सुरु हुने भएको छ।

हालै गरिएको एक साताको युद्धविराम सकिनै लाग्दा दुवै देश पुनः संवादको टेबलमा बस्न लागेका हुन्।

advertisement

यसअघि सम्पन्न पहिलो चरणको वार्ता निष्कर्षविहीन टुंगिएकाले यसपटकको पहललाई संवेदनशील र सम्भावित अन्तिम कूटनीतिक अवसरका रूपमा हेरिएको छ।

डोनाल्ड ट्रम्प ले वार्ताका लागि अमेरिकी टोली इस्लामावाद पठाउने घोषणा गरेसँगै कूटनीतिक गतिविधि तीव्र बनेको छ।

यसक्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले टोलीको नेतृत्व गर्ने चर्चा चलेको छ।

तर, भान्सको सहभागिताबारे अन्योल कायमै छ। राष्ट्रपति ट्रम्पले सुरक्षा संवेदनशीलता देखाउँदै उनको भ्रमण अनिश्चित रहेको संकेत गरेका छन् भने ह्वाइट हाउसका अधिकारीहरूले भने भान्सकै नेतृत्वमा टोली इस्लामावाद पुग्ने दाबी गरेका छन्।

अमेरिकी प्रतिनिधिमण्डलमा विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर समेत सहभागी रहने बताइएको छ।

पाकिस्तानको मध्यस्थतामा भइरहेको यो प्रयासलाई युद्धको जोखिम घटाउने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

हर्मुज जलडमरूमध्य र ओमानको खाडी क्षेत्रमा बढ्दो तनाव तथा इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच लामो समयदेखि मतभेद रहँदै आएको छ।

ट्रम्पले यसअघि वार्ताबाट सहमति ननिस्किए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।

यता पाकिस्तानले दुवै पक्षलाई सहमतिमा ल्याउन सक्रिय कूटनीतिक पहल गरिरहेको छ।

तर इरानले वासिङ्टनका कतिपय मागहरूलाई ‘अतिवादी र अवास्तविक’ भन्दै असहमति जनाउँदै आएको छ।

आगामी बुधबार युद्धविरामको म्याद सकिनुअघि कुनै ठोस सहमति हुने वा द्वन्द्व थप चर्किने भन्ने कुरा यही वार्तामा निर्भर रहने देखिएको छ।

कूटनीतिक विश्लेषकहरूले चेतावनी दिएका छन्—यदि यसपटक पनि वार्ता असफल भयो भने मध्यपूर्वको अवस्था अझ जटिल र जोखिमपूर्ण बन्न सक्छ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com