काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएको सेयर लगानीसम्बन्धी विवादबारे विस्तृत स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लगाइएका आरोपहरू निराधार रहेको बताएका हुन्।

मन्त्री गुरुङले उठेका प्रश्नहरूबारे जवाफ दिँदै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्। २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोप अस्वीकार गर्दै उनले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक आफ्नो सम्पत्ति विवरणमै २ करोडभन्दा बढी लगानी स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गरेका छन्।

advertisement

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणअन्तर्गत समेटिएको उल्लेख गर्दै उनले यो लुकाउने विषय नभई वर्गीकरणसम्बन्धी प्राविधिक कुरा मात्र भएको स्पष्ट पारे। लुकाउने उद्देश्य भएको व्यक्तिले ठूलो परिमाणको सम्पत्ति सार्वजनिक नगर्ने तर्क पनि उनले प्रस्तुत गरे।

मन्त्री बन्नुअघि नै उक्त सेयर खरिद गरिएको र लगानीको स्रोत २०८० भदौ २९ गते लिइएको ऋणको तमसुकमार्फत पुष्टि हुने उनले जानकारी दिएका छन्। सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत भएको र त्यसका प्रमाण सुरक्षित रहेको उनले बताएका छन्।

विवादमा जोडिएका दीपक भट्टसँग साझेदारी रहेको भनाइप्रति प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर खरिदलाई व्यक्तिगत साझेदारीका रूपमा व्याख्या गर्नु उचित नहुने बताए।

व्यापारिक लगानीमा भविष्यका सबै जोखिम वा उतारचढाव पहिल्यै अनुमान गर्न नसकिने उल्लेख गर्दै उनले पछिल्लो घटनाक्रमका आधारमा अघिल्लो लगानी निर्णयलाई दोषी ठहर्‍याउनु न्यायसंगत नहुने धारणा राखे।

‘स्वार्थको द्वन्द्व’ सम्बन्धी आरोपबारे स्पष्ट पार्दै उनले यस विषयको छानबिन सम्पत्ति शुद्धीकरण विभागबाट भइरहेको जानकारी दिए। यदि आफूले पदको प्रभाव प्रयोग गरेको भए छानबिन नै अगाडि नबढ्ने दाबी गर्दै उनले अनुसन्धान जारी रहनु नै कुनै हस्तक्षेप नभएको प्रमाण भएको बताएका छन्।

अन्त्यमा उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै हल्लाको पछि नलागी प्रमाणका आधारमा निष्कर्षमा पुग्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com